"राजनीतिक पुस्तान्तरण , हाम्रो पुस्ता र प्रश्न"

 हामी राजनीतिक पुस्तान्तरणलाई केबल उमेरसंङ्ग दाजिरहेका छौँ। पुस्तान्तरण भनेको केबल उमेर होइन यसमा प्राविधिक सोच, critical thinking skills, नवीन विश्वसंङ्ग भिज्नु आदि इत्यादि विषय पनि समेटिनु पर्छ।

हाम्रो मुख्य समस्या भावनात्मक उत्तेजना/रुपरेखा हो। कसैले कुनै विषयमा भावनात्मक रुपमा प्रकट भएर केही भन्यो भने हामी सजिलै पग्लिन्छौ जसको प्रत्यक्ष उदाहरण पछिल्लो समयमा भएका केही थान विरोधलाई लिन सक्छौं; MCC , नागरिकता विधेयक, पल-लामिछाने प्रकरण आदि। हामी आफ्नो धारणा स्वयम्'को अध्ययन, रिसर्चमा आधारित रहेर भन्दा अरुको कुरा सुनेको भरमा ज्यादा बनाउछौ र सजिलै बग्छौ। पछिल्लो समय हाम्रो बा-आमा पुस्ताको धारणा टिकटक/इन्द्रेणी/युटुब, हाम्रो पुस्ताको धारणा केही थान फेसबुक पेजले निर्धारण गरेको छ भने हाम्रो दाइको पुस्ताको धारणा टिभीमा अन्तर्वार्ता दिने आफूलाई "बौद्धिक" भनेर ट्याग लगाउनेको आधारमा बन्ने गरेको छ।
पछिल्लो समयको राजनीतिक घटनाक्रममा मेरो केबल एउटा गुनासो र निष्कर्ष छ त्यो के हो भन्दा मेरो दाइ पुस्ता नालायक भएको कारण मेरो पुस्ता निकम्मा भएको हो।दाइ पुस्ताले विद्रोही सैद्धान्तिक चेतलाई तिलान्जली दियो, रातदिन कुनै प्रश्न र उत्तरको अपेक्षा बिना केहि नभनी केबल कुनै अमुक नेताको झोला यसरी बोक्यो कि उसले आफुमा बा पुस्ताबाट पाएको/खोसेको/सिकेको र स्वयम्'मा भएको सैद्धान्तिक चेतना, निष्ठा , कर्तव्यबोध सबै बिर्सियो। जसको प्रत्यक्षमा मारमा मेरो पुस्ता पर्यो।जो केही समय यता काध थाकेर झोला बिसाउन खोज्दै छ तर कहाँ र कसरी बिसाउने थाहा नै छैन किनकी उसलाई केबल झोला बोक्न सिकाइयो, बिसाउन सिकाइएन।पहाडमा बिसायो बिहान उठ्दा पहाड नै पहिरोमा बगेर जान्छ तराईमा बिसायो खोलाले बगाएर परदेश पुर्याइदिन्छ।
हाम्रो पुस्ताको सम्पुर्ण समस्याको जड केबल दाइ पुस्ता मात्रै होइन। हामी स्वयम् पनि हौँ। हाम्लाई सबैभन्दा सजिलो कुरा नै अरुलाई दोष लगाएर पन्छिन लाग्छ। कतै केही भएन भने किन भएन भनेर हामी प्रश्नसम्म गर्दैनौं अरुले गर्दा नभएको भनेर पन्छिने काम गर्छौं जस्तो कि अघि माथि मैले सैद्धान्तिक नहुनुको दोष दाइ पुस्तालाई दिए। सिद्धांतको "स" पनि हामीमा हुन्थ्यो भने संविधानसभा पछिको कुनै पनि चुनावमा मेरो पुस्ता झन्डा बोकेको भेटिन्थ्यो किनकि हरेक चुनाव सत्ता निहित स्वार्थमा छ सैद्धान्तिक विचारमा आधारित छैन।हाम्रो पुस्ताको मुख्य कमजोरी Short- Cut खोज्नु र प्रश्न सोध्न नसक्नु हो।
आफ्नो क्षेत्रमा उठेका हरेक उम्मेदवारलाई प्रश्न सोधौँ चित्त बुझ्ने उत्तर नपाए बहिष्कार गरौं विकल्प खोजौँ।
जस्तो कि मेरो क्षेत्रमा उठेका उम्मेदवारहरु संङ्ग मेरो केही थान प्रश्न छन्।
(क) एमालेबाट उठ्नु भएका कृष्णभक्त Krishna Bhakta Pokhrel ज्यू'लाई प्रश्न
१." संसद विघटन गलत/प्रतिगमन भनेर सुरुमा विरोध गर्ने पछि उनकै झोलीमा जाने अनि हामी जन्मिनु अघि भएका घटनाको उदाहरण दिएर पन्छिन मिल्छ? एउटा गलतलाई अर्को गलतले कसरी काट्छ गलत भनेको हिरा हो ?
२. कोरोना आयो कृष्णभक्त गायब , महङ्गीले आकाश छोयो, संविधानको घाँटी रेटियो तर तपाईंले संसदमा कहिल्यै आवाज उठाएको सुनिएन, पछिल्लो १० वर्षमा हाम्रो जीवन स्तर संङ्ग प्रत्यक्ष सरोकार राख्ने कुनै मुद्दमा नबोल्ने सांसद अब बोल्छ भनेर कसरी पत्याउने ?
(ख) गठबन्धनको उमेश श्रेष्ठ Umesh Shrestha ज्यू'लाई जम्मा एउटा प्रश्न जुन उम्मेदवारले हाम्रो भूगोलको बनावट देखि, जनसंख्याको वितरण नै बुझेको छैन उसले हाम्रो लागि काम गर्छ भनेर पत्याउने कसरी ?
(ग) राप्रपाका रविन अधिकारी Rabin Adhikari ज्यू'लाई प्रश्न हाम्रो विगत र वर्तमानले प्रमाणीत गरेको एउटा कुरा के हो भन्दा हाम्रो प्रगतिको बाधक व्यवस्था, धार्मिक वर्गीकरण होइन यति बुझ्दा बुझ्दै नि एकपटक बिदा गरिसकेको तन्त्र पुनः चाहिन्छ भन्नेहरुसंङ्ग घाँटी जोडिएको तपाईंले क्षेत्रमा र संसदमा नविनता ल्याउनु हुन्छ भनेर मैले पत्याउने कसरी ?
(घ) स्वतन्त्र पार्टीका रवि लामिछाने Rabi Lamichhane ज्यू'लाई प्रश्न तपाईंको जागिरे जीवन होस् वा पारिवारिक जीवन वा अन्य पाटा वा पार्टी गठन कै परिवेशमा कतै पनि तपाईं मलाई स्थिर लाग्नु भएन जुन मान्छे आफैमा स्थिर छैन उसले हाम्रो क्षेत्रको विकास र हाम्रो आवाजलाई संसदमा स्थिर सकारात्मक रुपमा पुर्याउछ भनेर पत्याउने कसरी ?

Comments

  1. ठाकुर गैरे, सुदेश पराजुली, पवन वास्तोला, इन्द्र पौडेल लाइ पनि दाइ मानेर हुन्छ त ब्रो।। क्याम्पस को सुचनाको हक , #अबक्याम्पसकता , #iamwithdrkc मा तिम्रो सक्रियता देख्दा तिमी र तिम्रो पुस्ता त्यति विघ्न निकम्मा नै हो भन्न चाँही मिल्दैन ।।
    अनि यो विचार सिद्धान्त वाद सब भ्रम हो , जनजिविकाको प्रश्न सत्य हो ।

    ReplyDelete

Post a Comment

Popular Posts