बेपत्ता भएका अर्थहरु

मेरा शब्दहरुको
अर्थ हराएका छन्
म प्रयत्नशिल छु
अर्थ खोज्न!!
थाहा छैन शब्दहरु
कसरी अर्थहीन भए??
अर्थहरु कहाँ गए??
अहो
मेरो देश कुनै बेला
यसरी नि हराएको थियो
कहिले कालापानीमा!!
कहिले सुस्तामा!!
कहिले लिपुलेकमा!!
म सोचमग्न छु
कतै अर्थहरु खाडिमा त बेचिएन्न??
कतै अर्थहरु कफिनमा त फर्किदै छैनन्??
भन्नेले भन्लान्
सदियौ देखि
अर्थहरु शब्दहरुका बन्दी थिए!
आज सामन्ती पर्खाल नाघेर भागे!!
तर म प्रश्न गर्छु
नङ आफू भन्दा माथी भयो भनेर
मासु भागेको सुनेका छौ??
अर्थहिन शब्दहरु
युवा विहिन देश जस्तै हुदो रैछ
अस्तव्यस्त
अव्यवस्थित
न ती शब्दहरुले
असल वाक्य  बनाउन सक्छन्!
न त नयाँ अर्थ जन्माउन सक्छन्!!
आज मेरा हरेक शब्दहरु
आफ्नै सन्तानलाई
आफ्नो भन्न नपाएका
सेरोगेट मदर जस्तै भा'छन्
अस्तित्व विहिन!!
सहारा विहिन!!

Comments

Popular Posts