रहरहरु..


हिड्दा हिड्दै
गोरेटोमा
रहरहरु
कतिबेला भेटिन्छन्
कतिबेला छुट्छन
थाहा नहुदो रैछ!!
केही थान रहरहरु
मस्तिष्कले रोजे
मनले टुक्रयायो!!
केही थान रहरहरु
मनले आफू खुशि मन परायो
नयाँ प्रेमिका पाए पछि
बिर्सिएका पुर्व प्रेमिकाहरुका लिपिस्टकको स्वाद झै गरि
मस्तिष्कले बिर्सिदियो।
कतिपय रहरहरु
बा'को तलबको स्केल संङ्गै लुटिए!!
कतिपय रहरहरु
आमाको पुरानो साडि संङ्ग च्यातिएर हराए!!
कतिपय रहरहरु
सडकमा बलेका टायरहरुको धुवाँ देखेर
तर्सिए

बेपत्ता भए
अरबका मरभुमिहरुमा
साइला दाइ जस्तै गरि
जुन फर्किन्छ भन्ने आश छ तर भर छैन।।
वर्षा बनेर बर्सिने ध्याउन्नमा रहेका
कयौ रहरहरु
सिमसिमे पानी बनेर त्यसै बिलाए
जसरि
करोड आउने आशमा क्यासिनोमा लुटिन्छ्न लाखहरु!!
जिब्रोको स्वादको नाममा
कति रहरहरु
सुर्ती बनेर च्यापिए
अनि
थुकिए ब्यस्त सडकहरुमा!!
केही थान रहरहरुलाई
शितलहरले छोयो
अनि
काम्दा काम्दै ढले
कहिल्यै नबिउझने गरि ढले...
जसरी
हरेक जाडोमा
सामान्ती सत्ताले ढाल्ने गर्छ
दर्जनौ सर्वहाराहरु!!
कतिपय रहरहरु
केबल कल्पनाका सुन्दर तस्वीर बने
निदरी बनेर निदाए
तर
लक्ष्य बनेन्न!!
कतिपय रहरहरु
केबल रहरहरु बनेर सकिए!!
केही थान प्रश्नहरु रहरहरु जस्तै गरि थन्किएका छन्
केही थान उत्तरहरु रहरहरु जस्तै गरि थन्किएका छन।
साच्चै
रहर भनेको केबल रहर रहेछ।

Comments

Popular Posts