हामी ताली पिट्न जन्मिएका हौ

हजारौं शुक्रकिटहरु
बिच प्रतिस्पर्धा हुदा पनि
हामी नै किन जन्मियौ?
कतै हामी आरक्षण कोटामा परेर त जन्मेका होइनौ??
कतै हामी धाधली गरेर त जन्मेका होइनौ??
हाम्रो जन्मको पछाडि के स्वार्थ छ??
धेरै सोचे
धेरै खोजे
अन्तिममा निष्कर्ष निकाले
"हामी ताली पिट्न जन्मिएका हौ"
हाम्रो जन्मको मुख्य स्वार्थ
हाम्लाइ रातदिन ताली पिटाउनु हो।
उहाले
म तपाई हरुको सेवक हु भन्नुहुन्छ
हामी
हाम्लाइ  मालिक भन्यो भनेर ताली पिट्छौ
उहाले
दर्शन भेट चढाएको
भोलिपल्ट
भारतिय विस्तारवाद मुर्दावाद भन्नू हुन्छ
ब्रान्डी पेग लगाउदै
जुकरवर्ग क्याफेमा
डिभी नपरेको झोकमा
अमेरिकी साम्राज्यवादको अन्त्य गरौ लेख्नु हुन्छ
हामी रास्ट्रवादी भन्दै ताली पिट्छौ
छोराको भिसा नलागेपछि
हाम्रो छिमेकी
कराउदै भन्नुहुन्छ
छोराले देश मै केही गर्छु भन्यो
अनि
हामी फेरि ताली पिट्छौ।
आमाले छोरा गुमाउछिन
देशको होनहार युवा
आन्दोलनको नाममा
गोलिको शिकार हुन्छ
हामी कदापी दुखी हुन्नौ
भोलिपल्ट उसको मूल्य दस लाख तोकिन्छ
हामी सरकारको समर्थनमा ताली पिट्छौ
दुई खुट्टा टेकाएर प्लेनमा उडेको
बा'को काध
आमाको मुटुको टुक्रा
भाइको कलेज फि'को एक मात्र आधार
फर्किदा कफनमा सुतेर फर्किन्छ
समाचारले
यो वर्ष यति % रेमिटेन्स बढ्यो भन्छ
हामि धन्यवाद सरकार भन्दै तालो पिट्छौ
कहिले भुपिको क्यारम बोर्डको गोटि भएर
कहिले गणेशमानको भेडा भएर
हामी निरन्तर ताली पिटिरहन्छौ
हरेक वर्ष सुदुरको गोठ रित्तियो भनियो
हामिले हरेक पल्ट ताली पिटौ
एक ताली एक नेपालकि छोरी
त्यो पापी गोठले खायो
एकछिन
उनिहरुलाई त गोठले बाँस दियो
खान त कहिले  एनजीओले
कहिले सरकारले खायो
तर
सबैभन्दा धेरै हाम्रो अन्धाधुन्धको तालीले खायो
हाम्रो रास्ट्रीय चाड अब ताली पिट्ने हुनुपर्छ
हाम्रो जन्म नै ताली पिट्न भएको हो
हाम्रो कर्म नै ताली पिट्नु हो।
हाम्रो संस्कार
अब परिवर्तन गर्नु पर्छ
नमस्कारको सट्टामा
तालि पिट्ने हुनुपर्छ।
अब हामीले कसैलाई
"के छ"
भनेर सोध्न छोड्नुपर्छ

सोध्नुपर्छ 'के ताली पिट्नु भयो त"
आउनुस्
आज पनि मिलेर
संस्कृतिको सम्मानमा
हाम्रो जन्मको उद्देश्य
थाहा पाएको खुशिमा
एक पल्ट फेरि ताली पिटौ।

Comments

Popular Posts